पिसाब नलीको
संक्रमण, जसलाई अंग्रेजीमा Urinary Tract Infection वा UTI भनिन्छ, आज विश्वभरि नै गम्भीर जनस्वास्थ्य समस्या बनेको छ। हरेक वर्ष विश्वभर
करिब १५ करोड मानिस यस संक्रमणबाट प्रभावित हुने अनुमान गरिएको छ। यसको उपचार, परीक्षण, अस्पताल भर्ना र औषधिमा ठूलो आर्थिक
भार समेत पर्ने गरेको छ (Gupta et al., 2011;
Zeng et al., 2022) ।
विश्वव्यापी रूपमा
देखिएको यही समस्या नेपालमा अझ जटिल बन्दै गएको छ। पछिल्ला वर्षहरूमा एन्टिबायोटिक
प्रतिरोध तीव्र रूपमा बढ्दै जाँदा पहिले सहज रूपमा निको हुने पिसाब नलीको
संक्रमणसमेत उपचार गर्न चुनौतीपूर्ण बन्न थालेको छ। डाक्टरको सल्लाहबिना औषधि पसलबाट सजिलै एन्टिबायोटिक किन्न पाइने अवस्था,
अपुरो डोज खाने बानी, पुरानो औषधि आफैं फेरि
प्रयोग गर्ने प्रवृत्ति र जीवाणुहरूको बदलिँदो स्वरूपका कारण एन्टिबायोटिक
प्रतिरोध (Antimicrobial Resistance, AMR) ठूलो चुनौती बनेको
छ (Gyawali et al., 2026)। काठमाडौं मेडिकल कलेज शिक्षण
अस्पतालमा गरिएको पछिल्लो दुई वर्षे अध्ययनले नेपालमा पिसाब नलीको संक्रमण गराउने
जीवाणुहरू कस्ता छन् र कुन एन्टिबायोटिकले कति काम गर्न छाड्दैछ भन्ने विषयमा
महत्त्वपूर्ण तथ्य सार्वजनिक गरेको छ (Gyawali et al., 2026)।
अध्ययनको सार र
संक्रमण गराउने जीवाणुहरू
यो अध्ययन अप्रिल
२०२३ देखि अप्रिल २०२५ सम्म काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको थियो।
अध्ययनमा कल्चर-पोजिटिभ भएका १,४१० वटा पिसाबका
नमूनाहरू विश्लेषण गरिएका थिए (Gyawali et al., 2026)।
कल्चर-पोजिटिभ भन्नाले पिसाबको परीक्षणमा संक्रमण गराउने जीवाणु बढेको पुष्टि हुनु
हो।
अध्ययनअनुसार पिसाब
नलीको संक्रमण गराउने सबैभन्दा प्रमुख जीवाणु इशेरिसिया कोलाई, छोटकरीमा ई. कोलाई, नै थियो। कुल ९१२ केसमा ई.
कोलाई भेटिएको थियो, जुन सबै केसको ६४.६८ प्रतिशत हो (Gyawali
et al., 2026)। त्यसपछि क्लेब्सिएला निमोनिए १६.३८ प्रतिशत र
सुडोमोनास एरुजिनोसा ६.०३ प्रतिशत केसमा भेटिएका थिए (Gyawali et al.,
2026) ।
नेपालमा देखिएको यो
प्रवृत्ति विश्वका अन्य अध्ययनसँग पनि धेरै हदसम्म मिल्दोजुल्दो छ। अष्ट्रेलियाको
एक पाँच वर्षे अध्ययनले पनि पिसाब नलीको धेरैजसो संक्रमणमा ई. कोलाई प्रमुख कारण रहेको देखाएको थियो (Fasugba et al., 2016)। भारतको जम्मू क्षेत्रमा गरिएको अध्ययनमा पनि ई. कोलाईप्र मुख जीवाणुका
रूपमा देखिएको थियो (Raina & Najotra, 2019) ।
त्यस्तै, भारतकै कश्मीर क्षेत्रमा गरिएको
अस्पताल-आधारित अध्ययनले पनि UTI मा ई. कोलाईलाई
मुख्य जीवाणुका रूपमा पुष्टि गरेको थियो (Khan et al., 2023) । चीनको सिचुआन क्षेत्रमा गरिएको तीन वर्षे अध्ययनले समेत ई. कोलाई नै
पिसाब नलीको संक्रमण गराउने प्रमुख जीवाणु भएको देखाएको छ (Xu et al.,
2025) ।
महिला र पुरुषमा
देखिएको फरक
काठमाडौं मेडिकल
कलेज शिक्षण अस्पतालको अध्ययनमा सहभागी कुल बिरामीमध्ये ७०.५० प्रतिशत महिला र
२९.५० प्रतिशत पुरुष थिए (Gyawali et al., 2026)।
महिलामा पिसाब नलीको संक्रमण बढी देखिनु नयाँ कुरा होइन। महिलाको मूत्रनली पुरुषको
तुलनामा छोटो हुने भएकाले बाहिरका जीवाणु मूत्रथैलीसम्म पुग्न सजिलो हुन्छ। यही
कारणले महिलामा UTI को जोखिम बढी मानिन्छ (Gupta
et al., 2011) ।
तर यस अध्ययनको
अर्को महत्त्वपूर्ण पक्ष भने फरक छ। संक्रमण महिलामा बढी देखिए पनि एन्टिबायोटिकले
काम नगर्ने समस्या, अर्थात् मल्टिड्रग
रेजिस्टेन्स वा बहु-औषधि प्रतिरोध, पुरुषमा बढी देखिएको
छ। अध्ययनमा ६२.०२ प्रतिशत पुरुषमा MDR देखिएको
थियो, जबकि महिलामा यो दर ४०.५४ प्रतिशत मात्र थियो (Gyawali
et al., 2026)। MDR भन्नाले जीवाणु
धेरै प्रकारका एन्टिबायोटिकप्रति प्रतिरोधी भइसकेको अवस्था हो।
पुरुषमा MDR बढी देखिनुका पछाडि केही सम्भावित कारणहरू हुन सक्छन्। पुरुषहरूमा पिसाब
नलीसँग सम्बन्धित जटिलता, प्रोस्टेट ग्रन्थिको संक्रमण
वा लामो समयसम्म संक्रमण लुकेर बस्ने अवस्था हुन सक्छ। यस्ता कारणले उपचार कठिन
हुन सक्छ र प्रतिरोधी जीवाणु बढ्ने सम्भावना पनि बढ्न सक्छ (Gyawali et
al., 2026)।
वृद्धवृद्धामा
जोखिम अझ बढी
उमेरका आधारमा
हेर्दा ६५ वर्षभन्दा माथिका बिरामीमा MDR को दर सबैभन्दा बढी देखिएको थियो। यस समूहमा MDR दर ५८.८९ प्रतिशत पुगेको थियो (Gyawali et al., 2026)। वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, दीर्घरोग बढी हुने, अस्पताल आउजाउ धेरै हुने र
कहिलेकाहीँ बारम्बार एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था हुने भएकाले प्रतिरोधी
जीवाणुको जोखिम बढी हुन्छ।
यो तथ्यले UTI लाई सामान्य समस्या भनेर बेवास्ता गर्न नहुने देखाउँछ। विशेषगरी
वृद्धवृद्धा, दीर्घरोग भएका बिरामी, अस्पतालमा बारम्बार जाने व्यक्ति र पहिले धेरै पटक
एन्टिबायोटिक खाइसकेका मानिसमा पिसाबको संक्रमण देखिएमा अझ सावधानीपूर्वक परीक्षण
र उपचार गर्न आवश्यक छ।
एन्टिबायोटिक
प्रतिरोधको चिन्ताजनक प्रवृत्ति
यस अध्ययनको
सबैभन्दा चिन्ताजनक पक्ष भनेको केही सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकको
प्रभावकारिता घट्दै जानु हो। UTI को
उपचारमा धेरै प्रयोग हुने नाइट्रोफुरान्टोइनप्रति प्रतिरोध तीव्र रूपमा बढेको
देखिएको छ। सन् २०२३ देखि २०२४ सम्म यसको प्रतिरोध दर ४.८० प्रतिशत थियो। तर सन्
२०२४ देखि २०२५ सम्म आइपुग्दा यो दर बढेर १९.९१ प्रतिशत पुगेको छ (Gyawali
et al., 2026)।
यो सामान्य वृद्धि
होइन। एक वर्षमै प्रतिरोध दर झन्डै चार गुणा बढ्नुले भविष्यमा साधारण पिसाब
संक्रमणको उपचार पनि कठिन हुन सक्ने संकेत गर्छ। नाइट्रोफुरान्टोइनलाई प्रायः जटिल
नभएको UTI मा उपयोगी औषधि मानिन्छ। तर यसमा समेत प्रतिरोध बढ्न थाल्यो भने उपचारका
सुरक्षित विकल्पहरू साँघुरिँदै जानेछन्।
ई. कोलाईले
सेफिक्सिमप्रति ५८.०४ प्रतिशत र सिप्रोफ्लोक्सासिनप्रति ५२.८७ प्रतिशत प्रतिरोध
देखाएको छ (Gyawali et al., 2026) । यी दुवै
औषधि नेपालमा धेरै प्रयोग हुने एन्टिबायोटिकहरूमध्ये पर्छन्। अन्तर्राष्ट्रिय
उपचार निर्देशिकाले कुनै क्षेत्रमा प्रतिरोध दर २० प्रतिशतभन्दा बढी भएमा त्यस्तो
औषधिलाई सामान्य उपचारका लागि पहिलो रोजाइमा प्रयोग नगर्न सुझाव दिन्छ (Gupta
et al., 2011) । यस आधारमा हेर्दा नेपालमा सिप्रोफ्लोक्सासिन र
सेफिक्सिम जस्ता औषधिहरू UTI को पहिलो उपचार
विकल्पका रूपमा भरपर्दा छैनन्।
विश्वका अन्य
देशहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ। अष्ट्रेलियामा पिसाबको ई. कोलाईमा
एम्पिसिलिन र ट्राइमेथोप्रिमप्रति उल्लेखनीय प्रतिरोध देखिएको थियो (Fasugba
et al., 2016)। भारतमा बिटा-ल्याक्टम र फ्लोरोक्विनोलोन समूहका
औषधिहरूमा उच्च प्रतिरोध देखिएको छ (Raina & Najotra, 2019; Khan et al., 2023) । चीनको सिचुआन क्षेत्रमा गरिएको अध्ययनले पनि केही
सेफालोस्पोरिन वर्गका औषधिहरूमा उच्च प्रतिरोध देखाएको छ (Xu et al.,
2025)
अमिकासिन अझै
प्रभावकारी देखिएको छ।
एन्टिबायोटिक
प्रतिरोध बढ्दै गए पनि केही औषधिहरु उपयोगी देखिएका छन्। काठमाडौं मेडिकल कलेज
शिक्षण अस्पतालको अध्ययनमा अमिकासिनप्रति ई. कोलाईको प्रतिरोध दर १५.१० प्रतिशत
मात्र थियो। सुडोमोनास एरुजिनोसामा पनि अमिकासिनप्रति प्रतिरोध २०.९९ प्रतिशत
देखिएको थियो (Gyawali et al., 2026)।
यसको अर्थ अमिकासिन
जटिल UTI भएका बिरामीका लागि अझै उपयोगी विकल्प हुन सक्छ। तर अमिकासिन सुईबाट दिइने
औषधि हो। यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ, किनभने
यसले मिर्गौला र कानमा असर गर्न सक्छ। त्यसैले यो औषधि चिकित्सकको निगरानीमा, आवश्यक परीक्षणसहित र सही अवस्थामै प्रयोग गर्नुपर्छ।
मेरोपेनेमजस्ता
कार्बापेनेम वर्गका औषधिमा पनि ई. कोलाईको प्रतिरोध दर कम देखिएको छ। अध्ययनमा ई.
कोलाईले मेरोपेनेमप्रति ४.५९ प्रतिशत मात्र प्रतिरोध देखाएको थियो (Gyawali
et al., 2026)। तर सुडोमोनासमा मेरोपेनेम प्रतिरोध बढेको देखिएको छ।
यो दर ४.२६ प्रतिशतबाट बढेर ३०.३० प्रतिशत पुगेको छ (Gyawali et al., 2026)। यो अति गम्भीर संकेत हो, किनभने कार्बापेनेम
वर्गका औषधि प्रायः अन्तिम विकल्पका रूपमा प्रयोग गरिन्छन्।
चीनको अध्ययनले पनि
कार्बापेनेम वर्गका औषधि अझै धेरै अवस्थामा प्रभावकारी रहेको देखाएको छ। तर यस्तो
औषधि अन्तिम विकल्पका रूपमा सुरक्षित राख्नुपर्ने आवश्यकता पनि स्पष्ट पारेको छ (Xu
et al., 2025)।
नेपालका लागि यसको
अर्थ के हो?
यो अध्ययनले
नेपालमा UTI उपचारको पुरानो बानी अब सुरक्षित छैन भन्ने स्पष्ट संकेत दिएको छ। पहिले UTI भयो कि तुरुन्त सिप्रोफ्लोक्सासिन, सेफिक्सिम
वा अरू कुनै एन्टिबायोटिक खानु सामान्य जस्तै थियो। तर अहिले त्यही बानीले समस्या
झन् बढाइरहेको छ। जब जीवाणुले औषधि चिन्न थाल्छ र त्यसविरुद्ध बच्ने क्षमता विकास
गर्छ, त्यही औषधि अर्को पटक काम नगर्न सक्छ।
एन्टिबायोटिक
प्रतिरोध बढ्नुको अर्थ बिरामीलाई लामो समयसम्म संक्रमण रहनु, महँगो औषधि चाहिनु, अस्पताल भर्ना हुनुपर्ने
सम्भावना बढ्नु र गम्भीर अवस्थामा ज्यानकै जोखिम बढ्नु हो। विश्वव्यापी रूपमा UTI को बोझ अझै ठूलो रहेको र एन्टिबायोटिक प्रतिरोधले यसको उपचार थप
चुनौतीपूर्ण बनाइरहेको देखिन्छ (Zeng et al., 2022)।
अब के गर्नुपर्छ?
काठमाडौं मेडिकल
कलेज शिक्षण अस्पतालको दुई वर्षे अध्ययनले नेपालमा अस्पतालजन्य वातावरणमा
एन्टिबायोटिक प्रतिरोध तीव्र रूपमा बढिरहेको देखाएको छ (Gyawali
et al., 2026)। विशेषगरी नाइट्रोफुरान्टोइनजस्तो आधारभूत औषधिमा
प्रतिरोध बढ्नु जनस्वास्थ्यका लागि चेतावनी हो।
अब अस्पतालहरूले
आफ्नै स्थानीय एन्टिबायोग्राम बनाउनुपर्छ। एन्टिबायोग्राम भनेको कुन जीवाणुमा कुन
एन्टिबायोटिकले कति काम गर्छ भन्ने स्थानीय तथ्याङ्क हो। यस्तो तथ्याङ्कका आधारमा
औषधि छान्दा उपचार बढी प्रभावकारी हुन्छ र अनावश्यक एन्टिबायोटिक प्रयोग घट्छ (Gyawali
et al., 2026)।
सिप्रोफ्लोक्सासिन
र सेफिक्सिमजस्ता औषधिको जथाभावी प्रयोग तुरुन्त घटाउनुपर्छ। नाइट्रोफुरान्टोइनलाई
पनि जटिल नभएका UTI मा मात्र, चिकित्सकको सल्लाहअनुसार र स्थानीय प्रतिरोध अवस्थालाई हेरेर प्रयोग
गर्नुपर्छ (Gupta et al., 2011; Gyawali et al., 2026) ।
अमिकासिन र मेरोपेनेमजस्ता महत्त्वपूर्ण औषधिलाई अनावश्यक रूपमा प्रयोग गर्दै जाने
हो भने भविष्यमा यी औषधि पनि काम नलाग्ने हुन सक्छन्।
त्यसैले अस्पताल, चिकित्सक, फार्मेसी, नीति निर्माता र आम नागरिक सबैले एन्टिमाइक्रोबियल स्टेवार्डसिप, अर्थात् एन्टिबायोटिकको जिम्मेवार प्रयोग, गम्भीर
रूपमा लागू गर्नुपर्छ। यसको अर्थ हो, सही बिरामीलाई, सही औषधि, सही मात्रा, सही समय र सही अवधिसम्म मात्र दिनु।
निष्कर्ष
पिसाब नलीको
संक्रमण सामान्य हो, तर यसको उपचार अब
सामान्य तरिकाले गर्न सकिने अवस्था छैन। नेपालमा UTI गराउने प्रमुख जीवाणु ई. कोलाईनै रहेको छ, तर
धेरै औषधिप्रति यसको प्रतिरोध बढ्दै गएको छ (Gyawali et al., 2026)। सिप्रोफ्लोक्सासिन र सेफिक्सिमजस्ता लोकप्रिय औषधिमा प्रतिरोध दर ५०
प्रतिशतभन्दा माथि पुग्नु गम्भीर चेतावनी हो। नाइट्रोफुरान्टोइनमा एक वर्षमै तीव्र
रूपमा प्रतिरोध बढ्नु अझै चिन्ताजनक संकेत हो।
अब पिसाब पोल्यो, बारम्बार पिसाब लाग्यो वा UTI जस्तो लक्षण
देखियो भन्दैमा आफैं औषधि किनेर खानु हुँदैन। सम्भव भएसम्म पिसाबको कल्चर परीक्षण
गरेर कुन जीवाणु छ र कुन औषधिले काम गर्छ भन्ने थाहा पाएपछि मात्र उपचार सुरु
गर्नु आवश्यक छ।
स्वास्थ्यकर्मी र
आम नागरिक दुवै सचेत नभएमा भविष्यमा सामान्य संक्रमण पनि उपचार गर्न कठिन हुन
सक्छ। यही अवस्था बढ्दै गयो भने हामी यस्तो समयमा पुग्न सक्छौं, जहाँ साधारण संक्रमणका लागि पनि प्रभावकारी एन्टिबायोटिक नहुन सक्छ। यही
नै पोस्ट-एन्टिबायोटिक युगको सबैभन्दा ठूलो डर हो।



